खोटाङ । देशका विभिन्न भूभागमा केही दिनदेखि भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः कम हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने देशभरको मौसममा उल्लेख्य सुधार आउने जनाएको छ।
भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ।
पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। यस्तै कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसमी प्रणाली कमजोर हुँदै गए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना अझै छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षाका कारण जमिन गलिसकेको तथा नदी र खोलामा जलसतह बढेकाले पहिरो, बाढी र डुबानको जोखिम अझै कायम रहेको विभागले जनाएको छ। जोखिमयुक्त मध्य भूभागमा विभागले उच्च सतर्कता अपनाउन ‘रातो’ सङ्केतसहितको चेतावनी जारी गरेको छ।
तर, आज रातिदेखि मौसममा क्रमशः सुधार आउने विभागको पूर्वानुमान छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने सम्भावना रहेको छ।
सोमबारदेखि देशभर मौसम सामान्य बन्दै जाने विभागले जनाएको छ। सोमबारका लागि कुनै ठूलो मौसमी जोखिम नरहेको जनाउँदै विभागले ‘हरियो’ सङ्केत जारी गरेको छ। तराई क्षेत्रमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने र क्रमशः मौसम सफा हुँदै जाने पूर्वानुमान गरिएको छ।
वर्षापछि नदी तथा खोलामा जलसतह र सडकको अवस्था प्रभावित हुन सक्ने भएकाले मौसम सुधार हुँदै गए पनि जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो