काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आज अपराह्न खुलामञ्चमा आयोजना हुँदैछ।
असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने कांग्रेसले जनाएको छ। निर्वाचन राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने बताइएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश तथा विदेशबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि नै पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा सुरु भएको छ। प्रदेशअनुसार छुट्टाछुट्टै कक्षको व्यवस्था गरी दर्ता गराइएको छ।
प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशनको झोला प्राप्त गर्नेछन्। झोलामा पार्टीको विधान, कापी, कलमलगायत सामग्री राखिएको छ।
विभिन्न दलका शीर्ष नेता सहभागी हुँदै
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई समेत उद्घाटन समारोहमा आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए। देउवा पक्षले भने छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ।
विदेशी अतिथिका रूपमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवासहितका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुँदैछन्। काम्बिवा नेपाल आइसकेकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो