खोटाङ । दसैँ, तिहार र छठ पर्वलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन खोटाङका सरोकारवालाले सातबुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
दिक्तेलमा सोमबार जिल्ला सुरक्षा समितिको आयोजनामा भएको सर्वपक्षीय भेलामा राजनीतिक दल, सुरक्षा निकाय, व्यवसायी, यातायात क्षेत्र तथा सञ्चारकर्मीले चाडपर्व लक्षित सुरक्षा र सेवा व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेलाले चाडपर्वको समयमा जिल्लामा सुरक्षा गस्ती बढाउने, जोखिमयुक्त स्थानमा निगरानी विस्तार गर्ने तथा सुरक्षा निकायबीच समन्वय थप प्रभावकारी बनाउने निर्णय गरेको छ। बजार तथा यात्रुको चाप बढी हुने क्षेत्रमा नियमित निगरानी बढाउने र यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ।
यातायाततर्फ ट्राफिक नियमको कडाइका साथ पालना गराउने, चालकले मादक तथा लागू पदार्थ सेवन गरे–नगरेको जाँच गर्ने तथा सुरक्षित यातायात सञ्चालनमा जोड दिने प्रतिबद्धता गरिएको छ। यातायात व्यवसायीले यात्रुलाई टिकट उपलब्ध गराउने, तोकिएको स्थानमा मात्र चढाउने–ओराल्ने र चालक तथा सहचालकलाई मर्यादित व्यवहारका लागि सचेत गराउने भएका छन्।
होटल व्यवसायीले उपभोक्तालाई गुणस्तरीय खाना तथा बासको व्यवस्था मिलाउने र मनपरी मूल्य असुलीबाट हुने गुनासो न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग वाणिज्य क्षेत्रले उपभोक्ताको आधारभूत अधिकार सुनिश्चित गर्दै वस्तु तथा सेवाको गुणस्तर कायम गर्ने जनाएको छ।
त्यस्तै, राजनीतिक दलहरूले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सहयोग गर्ने तथा आपराधिक गतिविधिसम्बन्धी आधिकारिक सूचना सुरक्षा निकाय र प्रशासनलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पत्रकार तथा सञ्चारकर्मीले यात्रु, उपभोक्ता र व्यवसायीका अधिकार तथा कर्तव्यबारे सूचनामूलक सामग्री सम्प्रेषण गर्ने जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको कार्यकक्षमा भएको भेलामा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, यातायात तथा होटल व्यवसायी र सञ्चारकर्मी सहभागी थिए।
भेलाले चाडपर्वको अवधिमा जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरी शान्तिसुरक्षा तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो