आज नवरात्रको आठौँ दिन : महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदै

Jantedhunga

खोटाङ - बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ।

धार्मिक तथा पौराणिक मान्यताअनुसार पहिला महागौरीको रङ कालो थियो। भगवान् शिवले ख्यालठट्टा गर्दै ‘ए काली’ भनेपछि चित्त दुखाएकी देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरिन्। त्यसपछि उनको नाम महागौरी रहन गएको पुराणहरूमा उल्लेख छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेत वस्त्र लगाएकी स्वरूपमा हुने शास्त्रीय मान्यता छ।

यसअघि नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखिएको थियो र पहिलो देवी शैलपुत्रीको आह्वान गरिएको थियो। त्यसयता क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा सम्पन्न भइसकेको छ। सातौँ दिन दसैँघरमा फूलपाती पनि भित्र्याइएको थियो। आज आठौँ दिन महागौरीको आराधना भइरहेको छ भने भोलि नवौँ दिन सिद्धिदात्रीको पूजा गरिनेछ।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ। यसरी आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ, जसअनुसार नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।

यसैबीच नवरात्रको अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लागेको छ। फूलपातीपछि सार्वजनिक बिदा सुरु भएकाले मन्दिर तथा शक्तिपीठहरूमा दर्शनार्थीको उपस्थिति उल्लेख्य रूपमा बढेको छ।

Jantedhunga
प्रतिक्रिया