काठमाडौबाट खोटाङ जादै गरेको सुमो सुनकोसीमा खस्दा ३ जनाको मृत्यु, ३ जना बेपत्ता

Jantedhunga

सिन्धुली । काठमाडौंबाट खोटाङको दिक्तेलतर्फ आउँदै गरेको सुमो गाडी सिन्धुलीको फिक्कल गाउँपालिका–६, कालीमाटीस्थित सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

स्थानीयका अनुसार चालकसहित १० जना सवार २९७६ नम्बरको सुमो सडकबाट नदीमा खसेर आधा डुबेको अवस्थामा भेटिएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना बेपत्ता रहेको बताइएको छ।

दुर्घटनामा उद्धार गरिएका चार जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइते हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, दिक्तेलका १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिष्ट रहेका छन्।

प्राथमिक उपचारपछि चारै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ। मृतक तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको छ।

घटनाबारे प्रहरीको आधिकारिक पुष्टि तथा उद्धार कार्यको पछिल्लो विवरण प्राप्त हुन बाँकी छ।

Jantedhunga
प्रतिक्रिया