काभ्रेमा ग्यास बुलेटको ठक्करबाट खोटाङका ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

Jantedhunga

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन् ।

असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको HR38AL1634 नम्बरको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले बिहान ६ बजे बालक जुवासलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया