धरान। आफ्नै समुदायको भाषा र नेपाली भाषाको व्याकरणिक संरचनालाई तुलनात्मक रूपमा अध्ययन गरेर विद्यावारिधि हासिल गरेका डा. विष्णु पुमा राई सम्मानित भएका छन्। उनको अनुसन्धानलाई पुमा राई भाषा, संस्कृति र पहिचानको संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन धरान नगर समितिले बुधबार धरान–१५ स्थित श्री जनता भगवती नन्द आधारभूत विद्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा डा. राईलाई सम्मान गरेको हो।
खोटाङको जन्तेढुंगा गाउँपालिका–१, देविस्थान रिलामा जन्मिएका डा. राई हाल धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन्। उनले ‘पुमा राई भाषा र नेपाली भाषाको व्याकरणिक कोटिको तुलनात्मक अध्ययन’ शीर्षकमा शोधकार्य गरी विद्यावारिधि प्राप्त गरेका हुन्।
भाषा तथा संस्कृतिको अध्ययन र अनुसन्धानमार्फत प्राज्ञिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सङ्गठनले जनाएको छ। कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघा र सङ्गठनका नगर अध्यक्ष काजीबहादुर लामाले खदा तथा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा धरान–१७ का वडाध्यक्ष मनिष विष्ट, नेपाल शिक्षक महासङ्घ धरान नगरका सहअध्यक्ष राजेन्द्र खतिवडा, सङ्गठनका प्रदेश सदस्य राजु फुयाललगायतले डा. राईको अनुसन्धान र शैक्षिक यात्राको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे।
डा. राई शिक्षण पेसासँगै सङ्गठनात्मक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। उनले एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको धरान नगर सचिव, सुनसरी जिल्ला अध्यक्ष र केन्द्रीय परिषद् सदस्यका रूपमा रहेर शिक्षकहरूको पेसागत हकहितका पक्षमा काम गरेका थिए।
पुमा राई भाषामाथिको उनको अनुसन्धान केवल शैक्षिक उपाधि प्राप्त गर्ने प्रयासमा सीमित छैन। भाषाको व्याकरणिक बनोट, नेपाली भाषासँगको तुलनात्मक सम्बन्ध र भाषिक विशेषताको अध्ययनले पुमा राई भाषाको व्यवस्थित अभिलेखीकरण तथा संरक्षणका लागि आधार तयार गर्न सक्ने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न समुदायका भाषा र संस्कृतिमा पुस्तौँदेखि सञ्चित ज्ञान, परम्परा र सामुदायिक पहिचान जोडिएका छन्। तर लोपोन्मुख भाषाको प्रयोग र पुस्तान्तरण कमजोर हुँदै जाँदा तिनको मौलिकता हराउने जोखिम पनि बढ्दै गएको छ।
यस्तो अवस्थामा पुमा राई भाषालाई अनुसन्धानको विषय बनाएर विद्यावारिधि हासिल गर्नुले मातृभाषाको अध्ययन, संरक्षण र प्राज्ञिक विकासको आवश्यकतालाई उजागर गरेको छ। डा. राईको अनुसन्धानले भावी पुस्तालाई आफ्नै भाषा र सांस्कृतिक सम्पदाको अध्ययन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो