नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, फूलपाती भित्र्याइँदै

Jantedhunga

काठमाडौं । नवरात्रको सातौँ दिन आज (३१ असोज) नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आजै घरघरमा शुभसाइतमा फूलपाती भित्र्याउने परम्परा पनि छ।

वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिन्छ। कालरात्रि देवीलाई दुष्ट शक्तिको नाश गर्ने र भक्तजनलाई भयबाट मुक्ति दिलाउने शक्तिस्वरूपका रूपमा लिइन्छ। कृष्ण वर्ण र भयङ्कर स्वरूप भएकी यी देवीको आराधना गर्दा शक्ति, साहस र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको नवदुर्गाको पूजा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी हुँदै आज कालरात्रिको पूजासम्म आइपुगेको हो। आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ र देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको आराधना गर्ने चलन छ।

नवरात्रको सातौँ दिन फूलपाती भित्र्याउने विशेष परम्परा छ। फूलपातीलाई नवदुर्गाको प्रतीकका रूपमा घरघरमा भित्र्याएर दसैँको उल्लास बढाउने गरिन्छ। विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै नेपालीले बडादसैँ मनाउँछन्।

Jantedhunga
प्रतिक्रिया