२९ बुदे प्रस्ताव पास गर्दै सकियो एमालेको बिधान महाधिवेशन

Jantedhunga

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । गत भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा चलेको विधान महाधिवेशनले आगामी ११औं राष्ट्रिय महाधिवेशनका लागि विधान र नीति तर्जुमा गरेको छ ।

यस्तै, महाधिवेशनले डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग निर्वाचित गरेको छ । तीन दिनसम्म चलेको महाधिवेशनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीन वटा दस्तावेजसहित सात वटा प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दस वटा समूह निर्माण गरिएको थियो । ती समूहहरूमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गरेका थिए ।

विधान महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत निर्वाचित गरेको थियो । २५ सदस्यीय निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष, कुन्साङ लामा सचिव निर्वाचित भएका छन् । महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गरेको विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ ।

Jantedhunga
प्रतिक्रिया