आज जुन ५ विभिन्न कार्यक्रमका साथ बिश्व वातावरण दिवस मनाईदै

Jantedhunga

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु  गरी मनाइँदै छ। हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ। 

 सन् २०२४ को नारा भने" 'Land Restoration, Desertification and Drought Resilience'. " अर्थात् भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने लाग्दछ ।

जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने विषयलाई यस वर्ष बढी महत्त्व दिइएको छ।


यसैगरी स्वस्थ्य पृथ्वीका लागि मलिलो माटो, स्वस्थ पानी तथा रुखबिरुवाको उत्तिकै महत्त्व रहेको विषयलाई यस वर्ष महत्त्व दिइएको छ। हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ ।

वातावरण दिवसको पृष्ठभूमि

१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो । विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।

नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ।

 तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।

Jantedhunga
प्रतिक्रिया