खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ सेखुवाबाट प्रहरीले भरुवा बन्दुक, बारुद र बन्दुकमा प्रयोग हुने विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ बजे उर्गेन राईले आफ्नै घरमा अवैध भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
सोधपुछका क्रममा सेखुवा निवासी २८ वर्षीय उर्गेन राई र २४ वर्षीय दिपेन राईको संलग्नता खुलेपछि प्रहरीले उर्गेन राईको घरबाट करिब ३० मिटर उत्तरतर्फ रहेको निजकै जग्गाको बनमाराको झाडीभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
त्यसैगरी प्रहरीले पाँच थान फलामका टुक्रा, बारुदजस्तो देखिने कालो धुलो पदार्थ दुईवटा छुट्टाछुट्टै प्याकेटमा, तथा काटीसहितका तीन थान सलाई प्याकेटसमेत बरामद गरेको छ।
बरामद भएका हातहतियार तथा सामग्री नियन्त्रणमा लिई प्रहरीले उर्गेन राई र दिपेन राईलाई पक्राउ गरेको छ। उनीहरूमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दुवै जनाविरुद्ध खोटाङ जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो