पूर्वाञ्चल विश्वविद्यालयको चौधौं दीक्षान्त समारोह सम्पन्न

Jantedhunga

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको चौधौं दीक्षान्त समारोहमा ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन्।

मंगलबार मोरङको गोठगाउँस्थित केन्द्रीय कार्यालयमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा उनीहरु दिक्षित भएका हुन् ।

विश्वविद्यालयका अनुसार विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरू दीक्षित भएका छन्। जसमध्ये स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तरबाट १ हजार ४१३ तथा एमफिलबाट ५ जना विद्यार्थी रहेका छन्।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा बढी २ हजार २६४ जना विद्यार्थी दीक्षित भएका छन्। त्यसपछि इन्जिनियरिङ संकायबाट १ हजार २६२, विज्ञान तथा प्रविधि संकायबाट ७४७, कानुन संकायबाट ६२२ तथा चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानबाट ६२४ जना विद्यार्थी दीक्षित भएका छन्।

त्यस्तै, शिक्षा संकायबाट ९९८ र मानविकी संकायबाट १८४ जना विद्यार्थीले दीक्षान्त प्राप्त गरेका छन्। समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा.विवेकलालले नेपाली विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षा प्रदान गर्न विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे। सो अवसरमा शिक्षा मन्त्री पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

वि.सं. २०५२ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

Jantedhunga
प्रतिक्रिया