खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले सामाजिक संजालमा सूचना जारी गर्दै भीपीएन(VPN) प्रयोग गर्दा सावधान हुन अनुरोध गरेको छ। सुचनामा भीपीएन प्रयोग गरिएका उपकरण मा रहेका अन्य सामाजिक संजालका खाताहरु र बैंकिङ सुचना हरु चोरी हुनसक्ने र यस्ता किसिमको अपराधको अनुसन्धान प्रक्रिया जटिल हुने हुनाले सबैले आफ्नो तर्फबाट सजगता अपनाउन भनिएको छ। भीपीएन के हो ? जोखिम के छ?
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ‘भीपीएन’ ।मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो ।त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर केही प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन् ।
के हो भीपीएन ? ‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् ‘भीपीएन’ हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गरिदिन्छ ।
सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं । तर भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ ।
अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ । यसका लागि हामी कुनै भीपीएन निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर ।
भीपीएन कति सुरक्षित ?
साइबर सुरक्षा विज्ञका अनुसार साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिन्छ । तर निःशुल्क प्रयोग गर्न मिल्ने भीपीएनको साटो पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुने उनीहरुको भनाइ छ ।
‘निःशुल्क पाइने सबै भीपीएनहरू सुरक्षित हुँदैनन् । सित्तैमा पाइने भीपीएनबाट र्यानरमवेयर भाइरसहरू पनि डाउनलोड हुन्छ । यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ ।’
भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुकलगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका चाहिँ होइन, यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ, ‘सित्तैमा पाइने भीपीएनले अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्छ ।’
ह्याक हुने जोखिम
यता, कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हामीले चलाउने उपकरणहरूमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिने माध्यमको रुपमा बनिरहेको र यसले गर्दा हाम्रो घरमा चलाउनेदेखि अफिसमा चलाउने डिभाइसहरू समेत जोखिममा पर्न सक्छन् ।
‘निःशुल्क भीपीएन प्रयोग गरेर हामी प्राय एउटै उपकरण घरमा पनि चलाइरहेका हुन्छौं । अनि अफिस आउँदा पनि सोही उपकरण प्रयोग गरेर अफिसमा काम गरिरहेका हुन्छौं । तर भीपीएनले हाम्रो सामाजिक सञ्जालका खाताहरू, कर्पोरेट अफिस, सरकारी कार्यालय ब्याङ्किङ सूचनाहरू को चोरीको जोखिम उच्च हुन्छ ।’
ह्याकरहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउने भएकाले त्यसमा एक क्लिक हुनेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुने जोखिम उच्च हुन्छ।‘हामीले भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।’कसैले फेसबुक वा टिकटकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै यस्ता सफ्टवेयरहरू चलाउन हुदैन।भाइरसहरू र मलिशस कोडहरू त एकदमै फैलिन्छन् । तपाईँले क्लिक गर्नुभयो भने तपाईँका साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो