खोटाङ, असोज २५ । नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादसैँ आजदेखि सुरु भएको छ। नवरात्रको पहिलो दिन आज देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा घटस्थापना गरी जमरा राख्दै नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको विधिपूर्वक पूजाआराधना गर्दै छन्।
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको धार्मिक अनुष्ठान सुरु हुने परम्परा छ। यस दिन घरको पूजाकोठा वा दसैँघरमा शुद्ध माटो तथा बालुवा राखिएको स्थानमा जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने गरिन्छ। कलश स्थापना गरी दुर्गा भवानीको आह्वानसहित पूजा आरम्भ गरिन्छ।
नवरात्रको पहिलो दिन पूजाआराधना गरिने शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो हुन्। धार्मिक ग्रन्थअनुसार गिरिराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्री भनिन्छ। संस्कृतमा ‘शैल’ को अर्थ पर्वत र ‘पुत्री’ को अर्थ छोरी हुने भएकाले हिमालयकी छोरीका रूपमा उनको नाम शैलपुत्री रहेको धार्मिक मान्यता छ। देवीकवच र मार्कण्डेय पुराणलगायत ग्रन्थमा उनको महिमा उल्लेख गरिएको छ।
धार्मिक मान्यताअनुसार शैलपुत्रीको दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल हुन्छ। निधारमा अर्धचन्द्र धारण गरेकी उनी नन्दी अर्थात् साँढेलाई वाहनका रूपमा प्रयोग गर्ने देवीका रूपमा चित्रण गरिन्छिन्। उनलाई पार्वती, भवानी र हेमवतीजस्ता नामले पनि पुकारिन्छ।
नवरात्रका नौ दिनसम्म दुर्गाका विभिन्न नौ स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।
बडादसैँमा जमरा राख्नु, दुर्गा भवानीको आराधना गर्नु र विजयादशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिनु प्रमुख धार्मिक परम्परा हुन्। नेपालमा दसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा समेत मनाइन्छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो