भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट खोटाङका तीनजना सम्पर्कविहीन

Jantedhunga

खोटाङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका तीन जना सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा खोटाङको बाम्राङका पवन खत्री दाहाल, बिजयखर्कका कविन राई र दिक्तेलका रूपेश आत्रेय अवधूत  रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार पवन खत्री दाहाल नेपाली सेनामा कार्यरत रहेका छन् । बाढी प्रभावित रसुवा क्षेत्रमा रहेका उनीसँग बाढीपछि सम्पर्क हुन सकेको छैन ।

त्यस्तै, बिजयखर्कका कविन राई गाडी चालकका रूपमा कार्यरत रहेको र बाढीपछि उनी पनि परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

दिक्तेलका रूपेश आत्रेय अवधूत भने गोसाइँकुण्ड जाने भन्दै करिब चार दिनअघि काठमाडौंँबाट हिँडेका थिए । उनले रसुवाको धुन्चेसम्म पुगेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, त्यसपछि बुधबारदेखि उनीसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।

उनीहरू तीनै जनाको अवस्था अज्ञात रहेपछि परिवारजन चिन्तित बनेका छन् । परिवारले सम्बन्धित सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धारमा संलग्न टोलीलाई उनीहरूको अवस्था तत्काल खोजी गरी जानकारी गराइदिन अनुरोध गरेका छन् ।

यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । पछिल्लो विवरणअनुसार नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना समेत सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण उद्धृत गर्दै समाचारहरूमा जनाइएको छ ।

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ । बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र भोटेकोशी नदी तटीय क्षेत्रमा हेलिकोप्टर तथा पैदल टोलीमार्फत खोजी तथा उद्धार भइरहेको रेडियो नेपालले जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय खोटाङले पनि रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा पुगेका खोटाङका नागरिकहरूको अवस्था बुझी तत्काल जानकारी गराउन आग्रह गरेको छ। प्रशासनले आफन्तहरूले नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा अझै धेरै नागरिक सम्पर्कविहीन रहेकाले पवन खत्री दाहाल, कविन राई र रूपेश आत्रेय अवधूतको खोजी तथा अवस्थाबारे तत्काल यकिन गर्न परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Jantedhunga
प्रतिक्रिया