भोटेकोशी बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा

Jantedhunga

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सङ्घले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । सहयोग रकम जुटाउने, स्वयंसेवक परिचालन गर्ने तथा राष्ट्रिय समन्वय परिषद्लाई राहत अभियानमा जोड्ने गरी छुट्टाछुट्टै संयन्त्र बनाउने निर्णय पनि गरिएको सङ्घले जनाएको छ ।

प्रभावित क्षेत्रमा आवश्यकताअनुसार चिकित्सकीय टोली र स्वयंसेवक पठाउने तयारी गरिएको छ । राष्ट्रिय समन्वय परिषद्हरूमार्फत समेत उद्धार तथा राहतका लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावितको उद्धार, राहत वितरण र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै एनआरएनएले आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई राहत अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ ।

Jantedhunga
प्रतिक्रिया