समाज कल्याण परिषदले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै रेडक्रसको आपत्ति

Jantedhunga

काठमाडौँ ।  समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन  रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले द्वारा जारी  प्रेस विज्ञप्तिमा  समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको उल्लेख छ। 

समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले बताए ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरी रेडक्रसको छानबिन प्रतिवेदनकाे नाममा मिडियाहरूमा सार्वजनिक गरेको साथै कन्फ्लिट अफ ईन्टे्रेष्ट समेत ख्याल नगरी  बिज्ञकाे नाममा पहिला रेडक्रसमा काम गरेका ब्यक्तिलाई नियुक्ति गरि दुरासय युक्त कार्य गरेकाे भन्दै अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने बताए ।

‘हामी पारदर्शी छौं । हामीमा कुनै पनि किसिमको कपट छैन,’ अध्यक्ष नेपालले भने, ‘कसैलाई पनि हामी इर्ष्याकाे भावनाले हेर्दैनौं । त्यसैकारण हामीले भन्ने गरेका छौं पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भए पनि उसले छलफलसमेत नगरी छानबिनको नाममा त्यस्ता काल्पनिक खालका मिथ्या र झुट समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण गराएको आरोप लगाए ।

नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको भन्दै राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको बताए  । 

महामन्त्री श्रेष्ठले ७ प्रदेश,७७ जिल्ला ,१६ सय उपशाखा ,६ हजार बढी सर्कल र १२ लाख बढी स्वयंसेवक मार्फत बाढी, पहिरो, डुबान लगायतका विपदमा खोज, उद्धार र राहत वितरणका काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र समुदायको जीवन रक्षाका लागि खटिरहेको बताए ।

उनले  मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको प्रति आपत्ति जनाउँदै  केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गरे । 

वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र भएकाे उनकाे भनाई छ ।

“नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्”,  “छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।” जारी बिज्ञप्तिमा भनिएकाे छ ।

केही दिन यता रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएकाे समाचार आएपछि आज पत्रकार सम्मेलन गरी विज्ञप्ति मार्फत साे काे खण्डन गरेकाे हाे ।

Jantedhunga
प्रतिक्रिया