कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

Jantedhunga

डुम्रे (तनहुँ), १२ जेठ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा  युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ ।

गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । 

कालीगण्डकी नदी मोटरेवल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।”अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ गते निर्माण सम्झौता भएको हो । शर्मा, युनाइटेड विल्डर्स, रमन जेभीले रु २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ । 

कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुई पटक म्याद थप गरी निर्माणको काम अहिले करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ । विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ । वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनेपछि त सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।” स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेवल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो । यहाँ मोटरेवल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

कालीगण्डकी करिडोरसँग जोडिएकाले सहजरुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ । पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यो दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेवल पुल बनेको हो । यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनुका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ ।

Jantedhunga
प्रतिक्रिया