दर्शन, राजनिति र राजनिति दर्शन ।

Jantedhunga

(कृपया पाँच मिनेट अल्छी नमानी पढी दिनु होला )

दर्शन, राजनीति र राजनीतिक दर्शन ।

दर्शन के हो ?

"दर्शन" शब्दको सामान्य अर्थ देख्नु वा हेर्नु हो । तर यसको विशिष्ट अर्थ भने कुनै पनि विषयको अध्ययन, अनुसन्धान, चिन्तन, मनन, अनुभव र अनुभूतिका आधारमा गरिएको दृष्टिकोण भन्ने लाग्दछ । "दर्शन" शब्दका लागि अङ्ग्रेजीमा "philosophy" शब्दको प्रयोग गरिन्छ । यो शब्द गृक भाषाबाट निर्माण भएको हो । गृक भाषामा phileo जसको अर्थ प्रेम गर्नु र sophia जसको अर्थ ज्ञान हुन्छ । यी दुई शब्द मिलेर philosophy बनेको हो र जसको अर्थ ज्ञानप्रतिको प्रेम वा अनुराग भन्ने लाग्दछ ।

दर्शन भनेको जीवन र जगतलाई हेर्ने र फेर्ने दृष्टिकोण हो । दर्शन मानिसको अध्ययन, अनुसन्धान, चिन्तन, मनन र अनुभुतिका आधारमा बनेको भित्री विचार हो । मानिस जुन परिवेश र पर्यावरणमा बाँचेको हुन्छ त्यही अनुभव र अनुभुतिका आधारमा उसले विश्व दृष्टिकोण तयार पार्दछ र सोही अनुसारको दर्शन निर्माण गर्दछ । यसरी मानिसले आफूले जीविकोपार्जन गर्ने क्रममा आफ्नो व्यवहार, भोगाइ, अध्ययन तथा चिन्तनको आधारमा निर्माण गरेको जीवन र जगतसम्बन्धीको हेराई र बुझाई नै वास्तवमा दर्शन हो । मानिस चेतनशील एवं विवेकशील प्राणी हो त्यसैले उसलेआफू बाँचेका परिवेश, जीवन, जगत र आफूले देखेका सारा वातावरण आदिबारे अनेक तवरले सोच्ने गर्दछ । म को हुँ ? यो जीवन के हो ? यो पृथ्वी के हो ? सन्सार के हो? यो जगतको उत्पत्ति आफै भयो कि कसले गर्यो ? यसको विनाश हुन्छ कि हुदैन ? हुन्छ भने कसरी र कहिले हुन्छ, हुदैन भने किन हुदैन ? मान्छे के हो ? किन जन्मन्छ ? कसरी जन्मन्छ ? किन मर्छ ? मरेर कहाँ जान्छ ? सुर्य किन उदाउँछ ? किन अस्ताउछ ? रात किन पर्छ ? सुख के हो ? दुख के हो ? भगवान छ कि छैन ? छ भने कहाँ छ ? भगवान को हो ? उसको अवस्था के छ ? जस्ता अनेकौं जिज्ञासा र कुतूहल मानिसमा पैदा हुने गर्दछ । यही जिज्ञासा, कुतूहल र आश्चर्यको निराकरण स्वरुप जन्मिएको आन्तरिक दृष्टिकोण नै वास्तवमा दर्शन हो । 

दर्शनको स्वरुप:- 

दर्शनशास्त्रमा प्रमुख दुईवटा पक्ष छन् चेतना र पदार्थ । चेतना र पदार्थमध्ये कुन पहिलो हो भन्ने बहस विश्वमा प्राचीन समयदेखि नै हुँदै आएका छन् । मूलतः चेतनाले पदार्थको निर्माण गर्यो कि पदार्थले चेतनाको निर्माण गर्यो भन्ने अनुत्तरित बहस हुँदै आएका छन् । यसमा बहस गर्ने पनि मुख्य दुई खेमा नै छन् । भौतिकवादीहरु र आध्यात्मिकवादीहरु । यसमा आध्यात्मिकवादीहरु चेतना पहिले निर्माण भएको र चेतनाबाटै पदार्थको निर्माण भएको ठान्छन् भने भौतिकवादीहरु पदार्थको सृष्टि पहिले भएको हुनाले पदार्थबाटै चेतनाको निर्माण भएको विश्वास गर्दछन् । यसरी दर्शनशास्त्रमा जीवन र जगतलाई हेर्ने आध्यात्मिकवादी चिन्तनधारा र भौतिकवादी चिन्तनधारा गरी प्रमुख दुईवटा विचारधारा छन् । यही दुई चिन्तनधाराको आधारमा विश्वमा अनेक प्रकारको दार्शनिक चिन्तनहरुको विकास भएको र भइरहेको देखिन्छ । जस्तै: पूर्वमा साङ्ख्य, वेदान्त, न्याय, योग, वैशेषिक, मीमांसा, चार्वाक( लोकायत), बौद्ध, जैन, मुन्दुमी, ताओ, कन्फ्युसियस आदि दार्शनिक परम्परा छन् भने पस्चिममा युनानी, सोफी, मनोवाद आदि दर्शनको विकास भएको देखिन्छ । यी मूल दार्शनिक चिन्तनको आधारमा मान्छेले विकास गरेका अन्य विभिन्न ज्ञानका क्षेत्रहरुलाई पनि दार्शनिक दृष्टिकोणले हेर्ने परम्पराको समेत विकास हुन पुग्यो । जस्तै: कलाको दर्शन, भाषिक दर्शन, गणित दर्शन, साहित्यिक दर्शन, सामाजिक दर्शन, नैतिक दर्शन, विज्ञान दर्शन, इतिहास दर्शन, राजनीतिक दर्शन आदि । 

दर्शनको महत्त्व:- 

मानिस चेतनशील एवं चिन्तनशील प्राणी हो । यही विवेक र चेतनाकै कारण मानिस अन्य प्राणीभन्दा फरक भएका हुन् । मानिसको यही चेतना, चिन्तनकै कारण दर्शनको प्रारम्भ भएको र यही दर्शनकै कारण मानिस यो विकसित अवस्थामा आइपुगेको हो । दर्शनकै कारण मानिसमा नयाँ नयाँ विचार र चिन्तन पैदा हुने गर्दछ र त्यही नयाँ नयाँ विचार र चिन्तनले नै मानिसलाई नयाँ गति र प्रगति प्राप्त हुने गर्दछ । दर्शनकै कारण मानिसले विश्व के हो ? यसको उत्पत्ति कसरी भयो ? प्रकृति के हो ? प्राकृतिक सम्पदा के हो ? जीव के हो ? यसको उत्पत्ति कसरी हुन्छ आदि अनेकौं रहस्यमय ज्ञान र सूचनाहरु प्राप्त गरिरहेका छन् । यसका अतिरिक्त मानिसले जुन परिवेश र पर्यावरणमा जीवन व्यतीत गर्दछ सोही अनुरूपको दर्शन निर्माण गर्दछ भने उसको जुन किसिमको दर्शन छ सोही अनुसारको जीवनयापन गर्दछ त्यसैले मानिसको जीवनमा दर्शनको ठुलो महत्त्व हुने गर्दछ । मानिस के बन्न चाहन्छ, उसले हिड्ने बाटो कुन हो यी सब उसको दर्शनद्वारा निर्देशित र निर्धारित हुने हुनाले मानिसको जीवनमा दर्शनको महत्त्वपूर्ण भूमिका हुन्छ । दर्शनले मानिसको दैनिक क्रियाकलाप देखि भावी जीवनका लक्षसम्म निर्धारण गर्ने हुँदा मानिसले गलत दार्शनिक चिन्तनलाई आत्मसात गर्यो भने उसको जीवन वर्वादीतर्फ धकेलिन सक्छ । समग्रमा भन्दा दर्शन जीवन र जगतप्रतिको दृष्टिकोण भएको हुनाले मानिसको जीवनमा दर्शनको ठुलो महत्त्व रहेको छ। यी महत्त्वपूर्ण दर्शनहरुमध्ये यस छोटो आलेखमा राजनीतिक दर्शनको विवेचना गरिएको छ । 

राजनीति के हो ? 

राजनीतिक दर्शनको चर्चा गर्नुपूर्व पहिले राजनीति के हो भन्ने विषयमा बुझ्न जरुरी हुन्छ । सरल अर्थमा भन्ने हो भने राजनीति भनेको राज्यको शासन व्यवस्था सम्बन्धीको नीति, राज्यका अङ्गहरु परिचालन गर्ने नियमावली वा सिद्धान्त हो । अर्को अर्थमा भन्ने हो भने कुनै पनि राष्ट्रको राष्ट्र संचालन गर्ने विधिवत् सर्वोच्च नीति नै राजनीति हो राज्यको अन्य नीतिभन्दा विशिष्ट र मुख्य भएकै कारण यसलाई राजनीति भनिएको हो । राजनीतिलाई व्यवस्थित र विशिष्टीकरण गरेर व्याख्या विश्लेषण गर्ने विधालाई राजनीतिशास्त्र भनिन्छ । 

राजनीतिशास्त्रबारे पूर्वीय तथा पास्चात्य जगतमा अलग अलग धारणाहरु पाइन्छन् । राजनीतिलाई अङ्ग्रेजीमा politics भनिन्छ । यो politics शब्द गृक भाषाको polis र politia शब्दबाट निर्माण भएको हो र यसको अर्थ नगर र राजनीति भन्ने लाग्दछ । प्राचीन समयमा गृसमा ससाना नगर राज्यको बारेमा अध्ययन गरिने भएकोले तत्कालीन समयमा राजनीतिक शास्त्रलाई नागरिक शास्त्र भनिन्थ्यो । पाश्चात्य जगतमा राजनीतिशास्त्रको पिता अरस्तुलाई मानिन्छ । उनका अनुसार- "राज्यका व्यवस्थाहरुलाई ज्ञान र अन्तर्दृष्टि प्रदान गर्ने र सबै समाजमा सबै सदस्यहरुलाई असल जीवनको सुविधा दिन सक्षम बनाउन सक्ने शास्त्र नै राजनीतिशास्त्र हो" अरस्तु पछि लासबेल, आलमण्डु, पावेल, डेविड, रोबर्ट डाल, डेविट, डटसन, पाल जेनेट, फ्री ले, मोन्टेस्क्यु, भोल्तेयर, रुसो, वार्कर, बेली, गेटल, हेगेल, केजरर, बार्कर आदि विद्वानहरुले राजनीतिशास्त्रबारे आआफ्ना योगदान र उपस्थिति जनाएका देखिन्छ । ती विभिन्न विद्वानहरुको राजनीतिशास्त्र सम्बन्धिको सार के देखिन्छ भने राजनीतिशास्त्र भनेको सरकारको अङ्ग, अन्तर्राष्ट्रिय कुटनैतिक नीति तथा सम्बन्ध र राज्यको नीति सम्बन्धी व्याख्या गर्ने शास्त्र नै राजनीतिशास्त्र हो । पूर्वमा भने राजनीतिक चिन्तनको प्रारम्भ वैदिक ऋचाहरुबाटै भएको र राजनीतिको विशाल र वृहत्तर रुप भने महाभारत महाकाव्यमा देखापरेको देखिन्छ । यसका अतिरिक्त अन्य विभिन्न संस्कृत लेखक, अन्वेषकहरुले पनि राजनीतिबारे व्याख्या विश्लेषण गर्दै आएको पाइन्छ । नेपालका रैथाने जातिहरुमा किरातीहरुको मुन्दुम र अन्य जातिको मौखिक वाङमयहरुमा राजनीतिक छनक र विचारहरु प्राप्त गर्न सकिन्छ ।

राजनीतिशास्त्र सम्बन्धी विश्वमा विभिन्न अध्ययन पद्धतिहरु छन् । तीमध्ये ऐतिहासिक, दार्शनिक, तुलनात्मक, प्रयोगात्मक आदि मुख्य छन् । यी विभिन्न अध्ययन पद्धतिहरुमध्ये पछिल्लो चरणमा मुख्यतः दार्शनिक आधारमा राजनीतिशास्त्रको विवेचना गर्ने परिपाटीको विकास हुँदै आएको पाइन्छ । यस पद्धतिबाट अध्ययन गर्दा राजनीतिलाई पनि एउटा दर्शनकै हाँगाको रूपमा राखेर अर्थात् राजनीति दर्शनको रूपमा राजनीतिशास्त्रलाई हेर्ने गरिन्छ । यसरी राजनीतिलाई दार्शनिक रूपमा हेर्दा राजनीतिको अवधारणा, प्रारम्भ, विकास, परिवर्तन, प्रारुप आदि कोणबाट नियाल्ने गरिन्छ । यसका अतिरिक्त राजनीतिकर्मीहरुको मनोविज्ञान,राजनीतिक चिन्तन, आदर्श, उदेश्य,विचार र आचरणलाई समेत गम्भीर रूपमा अवलोकन गरिन्छ । वास्तवमा कुनै पनि राष्ट्रको राजनीतिक दर्शन नै त्यो राष्ट्रको विकास र समुन्नतिको जग भएकोले राजनीतिक दर्शन कुनै पनि राष्ट्रको लागि अत्यन्तै महत्त्वपूर्ण आधार हो । नेपाली राजनीतिक दर्शनलाई नियाल्ने हो भने अत्यन्तै निराशाजनक र दु:खद अवस्था देखिन्छ । नेपालको राजनीतिक दर्शन नै गलत भएकै कारण नेपाली राजनीति र देश माथि पुग्न नसकेको हो । 

नेपालको सबैभन्दा दुर्भाग्यपूर्ण राजनीतिक दर्शन के देखिन्छ भने जब कुनै पनि व्यक्ति कुनै पनि क्षेत्रमा सफल हुन सक्दैन तब त्यो व्यक्तिको एउटै मात्र विकल्प भनेको राजनीति हो । यसरी नेपालमा असफल, अयोग्य र अक्षम व्यक्तिहरुले नै हो राजनीति गर्ने भन्ने अत्यन्तै गलत राजनीति दर्शनको विकास भएको छ । यही कारण नेपाली राजनीतिमा यस्तै असफल र अयोग्य मान्छेहरुले नै नेपाली राजनीतिमा पकड जमाइरहेको छ । विधालयदेखि विश्वविद्यालय तहसम्म उत्कृष्ट विधार्थीले होइन कि असफल र निकृष्ट विधार्थीहरुले राजनीतिको बागडोर सम्हालेका छन् फलत: नेपालमा विधार्थी राजनीतिदेखि नै अक्षम मान्छेहरुले राजनीतिक कब्जा गर्न थालेको पाइन्छ । 

नेपाली राजनीतिमा अर्को गलत राजनीतिक दर्शन के रहेको छ भने राजनीति भनेको सही मान्छेले, सही तरिकाले, इमान्दारपूर्वक गरिने क्षेत्र नै होईन । राजनीतिमा साम, दाम, दण्ड, भेद सबैको उपयोग गर्नु पर्दछ । राजनीतिमा षड्यन्त्र, खुरापाती, अपहरण, आतङ्क, जाल, झेल, चतुर्‍याइँ सब जायज हुन्छ भन्ने राजनीतिक दर्शनकै कारण नेपाली राजनीति विरुप र कुरुप बन्दै गएको छ । यसरी यही राजनीतिक दर्शनकै कारण नेपाली राजनीतिमा ईमान्दार र सही मान्छेको अभाव हुँदै गएको देखिन्छ । 

यसरी नै नेपाली राजनीतिमा देखा परेको अर्को घातक राजनीति दर्शन हो राजनीति गर्नु भनेको सत्ता र सम्पत्तिकै लागि हो । यही राजनीतिक दर्शनले जन्माएको अभिव्यक्ति के हो भने "राजनीति गर्नु भनेको जोगी हुनु हो ?" यो अभिव्यक्तिको एउटै आशय के प्रष्ट हुन्छ भने राजनीति गर्नु भनेको जसरी पनि सत्तामा पुग्नु र सम्पत्ति कमाउनु नै हो । यही दर्शन बोकेर राजनीतिमा हाम फालेकाहरुले नै जसरी पनि सत्तामा पुग्ने र त्यहाँ पुग्नसाथ सम्पत्ति जोड्नमा दिलोज्यान दिएर लागेको देखिन्छ । पद र सत्ताको लागि वडा अध्यक्ष देखि प्रधानमन्त्री सम्म पदका लागि पैसाको चलखेल हुने र पार्टीका नेताहरुले वडाअध्यक्ष देखि सांसद सम्मको टिकट बाँड्दा पद अनुसार पैसा असुल्ने जस्ता निकृष्ट काम समेत हुने गरेको देखिन्छ । यही सत्ता र सम्पत्तिको मोहकै कारण राजनीति दलहरुले सांसद अपहरण, किनबेच, मन्त्री पद किनबेच जस्ता विरुप र कुरुप प्रदर्शन गर्नुका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राष्ट्रघाती सन्धि, सम्झौता समेत गर्दै आएको देखिन्छ । 

नेपाली राजनीतिमा देखा परेको अर्को खराब नेपाली राजनीतिक दर्शन हो "राजनीति भनेको पेसा हो" वास्तवमा नेपाली राजनीतिक कर्मीहरुले राजनीतिलाई विशुद्ध समाजसेवा, राष्ट्रसेवाको रूपमा नलिइ यसलाई पेसा, व्यवसायको रूपमा लिएकै कारण नेपालमा यतिखेर ओडाअध्यक्षदेखि सांसदसम्मका उम्मेदवारहरुले चुनावमा करोडौं लगानी गरिरहेका देखिन्छ । राजनीतिलाई उधोगधन्दा र पेसाका रूपमा लिएकै कारण चुनावमा लगानी गरेका राजनीतिक कर्मीहरुले, निर्वाचित जनप्रतिनिधिहरुले विकास भन्दा पनि सर्वप्रथम आफ्ना लगानी उठाउने ध्याउन्नमा लाग्न विवस छन् । यही राजनीति दर्शनको कारण बिना पेसा र आम्दानी राजनीतिमा लागेका गरिब आम राजनीतिक व्यक्तिहरु करोडपति, अरबपति बन्ने क्रम जारी छ ।

नेपाली राजनीतिमा देखा परेको अर्को गलत राजनीतिक दर्शन हो "विपक्षी वा प्रतिपक्षी दलको विरोध गर्नै पर्छ" यही राजनीतिक दर्शनकै कारण अर्को पार्टीका वा विपक्षी पार्टीका सरकारले जतिनै राम्रो काम गरे पनि विरोध गर्नै पर्ने संस्कारको विकास भएको हो । यही राजनीतिक दर्शनको कारण ७५३ ओटै स्थानीय तह, सातै प्रदेश र सङ्घीय सरकारले पुरानो जनप्रतिनिधिहरुले थालनी गरेको राम्रो कामको पनि निरन्तरता दिनुको सट्टा क्रम भङ्ग गर्ने परम्पराको विकास भएको कारण कयौं राम्रा योजना समेत अलपत्र परेको देखिन्छ । विरोधकै लागि विरोध गर्ने परम्पराको थालनी भएको कारण नेपाली राजनीतिक संस्कार अत्यन्तै दुषित बन्दै गएको देखिन्छ । यी र यस्ता अनेकन् खराब राजनीतिक दर्शनका कारण नेपालले उन्नति र विकासको पथमा लम्कनु नसकेको हो ।

यसरी गलत नेपाली राजनीतिको कारण राष्ट्र विकासमा मात्र प्रभाव नपरी राज्यका अन्य निकायहरुमा समेत गम्भीर असर पर्ने गर्दछ । सत्ता, पद र नियुक्ति बेचबिखन हुन थालेमा न्यायिक सेवा, विश्वविद्यालय, संवैधानिक निकाय, प्रज्ञाप्रतिष्ठान आदिमा गरिने नियुक्तिमा समेत गम्भीर ढङ्गले असर पर्न थालेको देखिन्छ । ती नियुक्तिहरु समेत भागबन्डा, अंशबण्डा र किनबेच भएकै कारण अक्षम, अयोग्य र गलत मान्छेहरु नियुक्त हुनथालेको देखिन्छ । समग्रमा के भन्न सकिन्छ भने दर्शन कुनै पनि क्षेत्र वा विषयको आँखा वा मार्गदर्शन हो । जुन दर्शनको आधारमा जीवनलाई अगाडि बढाइन्छ त्यही अनुसारको प्राप्ति हुने हुनाले हामी र हाम्रो उन्नतिका लागि हाम्रो दार्शनिक चिन्तन सही हुन जरुरी हुन्छ । राष्ट्रको उन्नतिका लागि पनि सही राजनीतिक दर्शनको अवलम्बन हुन जरुरी हुन्छ । जबसम्म नेपाली राजनीतिले सही दार्शनिक चिन्तनलाई आत्मसात गर्दैन तबसम्म नेपाल र नेपाली जनता माथि पुग्न असम्भव छ त्यसैले सही राजनीतिक दर्शनलाई अंगिकार गरेर अगाडि बढ्नुको विकल्प हामी संग छैन । 

डा.भक्त राई, ललितपुर-२६ ढोलाहिटी ।

Jantedhunga
प्रतिक्रिया