लागू औषध विरुद्ध मोरङ प्रहरी - लागूऔषध विरुद्धको महाअभियान ‘मेगा क्यान–२०८३’

Jantedhunga

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा कोशी प्रदेशको राजधानी र नेपाल भारत सिमा सहर बिराटनगरमा लागूऔषध विरुद्धको महाअभियान ‘मेगा क्यान–२०८३’ (Mega Campaign Against Narcotics–Mega CAN) को औपचारिक शुभारम्भ गरिएको छ। 

आज ( सनिवार )अभियानको पहिलो चरणअन्तर्गत विराटनगरको महेन्द्र चोकबाट सचेतनामूलक प्रभातफेरी निकालिएको थियो। प्रभातफेरी कार्यक्रमको प्रतिनिधिसभा सदस्य आशा झा ले रिबन काटेर उद्घाटन गरेकी थिईन। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी जलजला चोक र गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो।

त्यसपछि विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजित दोस्रो चरणको कार्यक्रममा  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक उद्घाटन गरे । कार्यक्रममा “अन्धकारबाट उज्यालतर्फ” शीर्षकको नाटक, लागूऔषध विरुद्ध सचेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो।

मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक र युवाहरुबीच सामूहिक सहकार्य आवश्यक रहेको बताए । मोरङ प्रहरीले सुरु गरेको अभियानले युवापुस्तालाई कुलतबाट जोगाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अभियानमा  प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको भन्दै  मोरङबाट सुरु भएको अभियान देशव्यापी रूपमा विस्तार गर्न आवश्यक रहेको र युवाहरुलाई लागूऔषधको कुलतबाट बचाउन यस्ता अभियान प्रभावकारी हुने धारणा राखेका थिए।

कार्यक्रममा इन्द्र मणि पराजुली, प्रतिनिधिसभा सदस्य शन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, गृह मन्त्रालयका सहसचिव तथा लागूऔषध नियन्त्रक सुमन घिमिरे, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्लभ घिमिरे लगायतले लागूऔषध विरुद्ध ऐक्यबद्धता व्यक्त गर्दै मन्तव्य राख्दै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले अभियानलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालको अभियानको उद्देश्य, औचित्य तथा मोरङमा लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुतीकरण रहेको कार्यक्रममा  कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागूऔषधको मानव स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सहभागीहरुले लागूऔषध नियन्त्रणका लागि तयार गरिएको ९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रममा मोरङका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, न्यायाधीश, उद्योग वाणिज्य संघका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Jantedhunga
प्रतिक्रिया