काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज देशभर गाईको पूजा आराधना गरी गाईतिहार मनाइँदैछ। वैदिक सनातन हिन्दू परम्पराअनुसार गाईलाई गौमाता तथा धनधान्य र समृद्धिकी देवी लक्ष्मीको प्रतीकका रूपमा मानेर पूजा गर्ने प्रचलन छ।
हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र जनावरका रूपमा सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गहुँत र गोबरलाई धार्मिक, सांस्कृतिक तथा व्यवहारिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ। आमाको दूधसरह पौष्टिक दूध प्रदान गर्ने भएकाले गाईलाई मातासमान सम्मान गर्ने धार्मिक विश्वास रहिआएको छ।
धार्मिक मान्यताअनुसार गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास रहेको विश्वास गरिन्छ। गाईको सिङको फेदमा ब्रह्मा र विष्णु, अग्रभागमा तीर्थ तथा बीच भागमा महादेवको वास रहेको मान्यता छ। त्यसैगरी आँखामा सूर्य र चन्द्रमा, जिब्रोमा वरुण, कण्ठमा सरस्वती तथा कानमा अश्विनीकुमारको वास रहेको धार्मिक विश्वास छ। गाईतिहारका दिन गाईलाई नुहाइदिने, माला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार खान दिने परम्परा छ। यसरी श्रद्धापूर्वक गाईको पूजा गर्दा पाप नष्ट हुने, पुण्य प्राप्त हुने तथा घरपरिवारमा सुख, शान्ति र समृद्धि भित्रिने जनविश्वास छ।
यस्तै, जनैपूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने धार्मिक विश्वाससमेत रहिआएको छ।
धार्मिक आस्था र परम्परासँग जोडिएको गाईतिहारले गाईको महत्व, संरक्षण तथा मानव जीवनमा यसको योगदानलाई स्मरण गराउँदै आएको छ। यस पर्वले नेपाली समाजमा प्रकृति, पशुपन्छी र जीवजन्तुप्रतिको सम्मान तथा सहअस्तित्वको सन्देशसमेत दिने गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो