इलाममा अटो दुर्घटनापछि आगलागी : ८ वर्षीया बालिकाको मृत्यु

Jantedhunga

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो टेम्पो दुर्घटनापछि आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा अटो चालकसहित पाँच जना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ५ बजे पोखरी–कमेरे सडकखण्डमा मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्र–०३–००३ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो।

दुर्घटनापछि पेट्रोल चुहिएर अटोमा आगो लागेको प्रहरीले जनाएको छ। आगलागीमा शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी इलाम नगरपालिका–७ तिल्केनीकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। उनको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा राति करिब ८ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सुस्मिताकी आमा २७ वर्षीया कविता श्रेष्ठ पनि दुर्घटनामा गम्भीर घाइते भएकी छन्। उनको शरीरका विभिन्न भाग जलेको र बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठसमेत गम्भीर घाइते भएका छन्। आगलागीका कारण उनको शरीरका विभिन्न भागमा चोट तथा जलन भएको छ।

दुर्घटनामा अटोमा सवार २२ वर्षीया दुर्गादेवी श्रेष्ठ, ४० वर्षीया रमाकुमारी श्रेष्ठ र २७ वर्षीया मन्दिरा थापा पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीका कारण अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुसन्धानमा कच्ची सडकमा चालकको असावधानीका कारण अटो अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Jantedhunga
प्रतिक्रिया