काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको दाबी गर्दै यसको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनबाट पछि हटे देशको रक्षा गर्न नसकिने बताएका हुन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि मानसिक र सांगठनिक रूपमा तयार रहन निर्देशन दिए।
ओलीले अहिलेको परिस्थितिमा आन्दोलनबाटै पार्टीले शक्ति आर्जन गर्ने र आफ्नो राजनीतिक लक्ष्य हासिल गर्न सक्ने दाबी गरे। तिहार तथा छठपछि वा आवश्यकताअनुसार जुनसुकै समयमा आन्दोलन हुन सक्ने भन्दै उनले आन्तरिक तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे।
सम्बोधनका क्रममा ओलीले दक्षिणपन्थी शक्तिहरूमाथि लोकतन्त्र र शान्तिको नारा दिएर जनतालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए। उनले वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना भइरहेको टिप्पणी गरे।
प्रहरीले बिनाबर्दीमा पक्राउ गर्न जाने तथा बलपूर्वक घरमा प्रवेश गर्ने गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। उनले यस्ता गतिविधिले नागरिकमा त्रास सिर्जना गरेको आरोपसमेत लगाए।
ओलीले राज्य फाँसीवादतर्फ अघि बढिरहेको दाबी गर्दै यस्तो अवस्थामा आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प नरहेको बताए। आगामी निर्वाचनमा एमालेलाई घेराबन्दी गरेर पराजित गर्ने प्रयास सफल हुन नदिने भन्दै उनले पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिए।
ओलीका यी भनाइ एमालेको राजनीतिक धारणा र वर्तमान सरकारप्रतिको उनको आलोचनाका रूपमा आएका हुन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो