मंसिर ४, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँपालिका स्थित बराहपोखरीमा सांस्कृतिक महोत्सव हुने भएको छ ।
बराहपोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सह आयोजनामा हरिबोधिनी एकादशी मेलाको शुभ अवसरमा मंसिर ६ गते बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।
नेपालको १०० पर्यटकीय गन्तव्य स्थल मध्ये एक रहेको शंखेश्वर महादेव मन्दिर र पूर्वको फेवातालको रुपमा परिचित बराहपोखरी तालको प्रचारप्रसार गरि पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने मूल उद्देश्य राखी नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूका साथमा स्थानीय जातजातिहरुको आआफ्नो मौलिक संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम सहित महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले सामाजिक संजाल फेसबुक मार्फत सूचना जारी गरि जानकारी गराएका छन् ।
उक्त सांस्कृतिक महोत्सवमा लोकप्रिय गायक शम्भु राई, कमल खत्री र हाँस्य कलाकार सुबोध गौतम लगायतका कलाकारहरुको उपस्थिति रहने भएको छ ।
बराहपोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गरि यस जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मूल उद्देश्य रहेको यस महोत्सवमा जिल्ला बाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेशका सम्पूर्ण सांसद तथा जनप्रतिनिधिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
वर्षेनी हरिबोधिनी एकादशीको दिन विशेेष मेला लाग्ने यस क्षेत्रमा भोजपुर, उदयपुर, ओखलढुंगा, सप्तरी, सिराहा, झापा मोरङ, सुनसरी लगायतका ठाउँहरु बाट समेत भक्तजनहरुको विशेष उपस्थिति रहदै आएको छ ।
बराहपोखरीमा दुर्लभ रातो माछा पाईनु त्यहाँको मूल विशेषता हो भने हरिबोधिनी एकादशी मेलाको दिन विशेषगरी किराँती समुदायका विजुवाका साथै हिन्दु मान्यता अनुसारको धामीझाँक्रीहरुको विशेष उपस्थिति रहने गरेको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो