भोजपुरमा खुकुरी प्रहार : एक जना गम्भीर घाइते, आरोपित पक्राउ

Jantedhunga

भोजपुर। भोजपुरको पौवादुङ गाउँपालिका–३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब १० बजे भएको घटनामा स्थानीय २७ वर्षीय धनकुमार राईमाथि सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ।

घाइते राईलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित अस्पताल पठाइएको छ। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार सामान्य विवाद चर्किएर झैझगडामा परिणत भएपछि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि आरोपित गणेशबहादुर राईलाई घटनामा प्रयोग गरिएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण, पृष्ठभूमि तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया