जन्तेढुंङामा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु : चार टोली सेमिफाइनलमा प्रवेश

Jantedhunga

खोटाङ । नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा उधौलीको अवसर पारेर खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा ( साविक चिसापानी गाउँ  विकास समिति वडा स्तरीय )भलिबल प्रतियोगिता सुरु भएको छ।

चिसापानी खेलकुद विकास समितिको आयोजना, जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोग तथा श्री बालोदय आधारभूत विद्यालयको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो।

श्री बालोदय आधारभूत विद्यालय, नाटेपानीको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले गरेका थिए। कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर राईलगायत स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।                                                   समितिका अध्यक्ष महेश्वर  कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक सन्तोष बिक र समाजसेवी ईन्द्र कार्किले संयुक्त  रुपमा गरेका थिए

प्रतियोगितामा १० वटा टोली सहभागी भएका छन्। पहिलो दिन विभिन्न चरणका खेल सम्पन्न हुँदा समूह ‘क’ बाट साविक चिसापानी–३ घोर्ले (ए) र चिसापानी–४ खुट्टा (ए) तथा समूह ‘ख’ बाट चिसापानी–७ पाथिभरा र डाँडाखर्क–३ गरी चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

समय अभावका कारण समूह ‘ख’ अन्तर्गतको सेमिफाइनल खेल पहिलो दिन सम्पन्न हुन नसकेपछि उक्त खेल भोलि बिहान ७:३० बजेदेखि सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टोलीले १५ हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन्।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चिसापानी खेलकुद विकास समितिका अध्यक्ष महेश्वर कोइरालाले बताए।

यसैबीच, तिहारको अवसरमा भोलि (कार्तिक २० गते) श्री बालोदय आधारभूत विद्यालय परिवारले अभिभावक तथा स्थानीयलाई निमन्त्रणा गरी देउसी–भैलो कार्यक्रमसमेत प्रस्तुत गर्ने जनाएको छ।

Jantedhunga
प्रतिक्रिया