खोटाङ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यका साथ विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ।
यस दिवससँगै आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानसमेत सुरु भएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म सञ्चालन हुने अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि विश्वव्यापी ऐक्यबद्धता र सामूहिक प्रयासको आवश्यकता औँल्याउँदै आएको छ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले अभियानमार्फत ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्य गरौँ : न्याय सुनिश्चित गरौँ, पीडितलाई संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने सन्देश अघि सारेको छ। नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ।
यसै अवसरमा सार्वजनिक पछिल्लो अन्तर्राष्ट्रिय तथ्याङ्कले महिला हिंसाको भयावह अवस्था उजागर गरेको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) को सन् २०२६ को प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर करिब ४७ हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको छ।
प्रतिवेदनअनुसार सन् २०२५ मा हत्या गरिएका महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो। यसअनुसार प्रत्येक दिन औसत १२९ जना अर्थात् प्रत्येक घण्टा पाँचभन्दा बढी महिला तथा बालिकाले ज्यान गुमाउने गरेका छन्। घरसमेत महिला तथा बालिकाका लागि सबैभन्दा असुरक्षित स्थान बन्नु गम्भीर चिन्ताको विषय रहेको प्रतिवेदनले औँल्याएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसा भोग्ने गरेका छन्। हिंसा घरभित्र मात्र सीमित नभई कार्यस्थल, सार्वजनिक स्थान, विद्यालय तथा डिजिटल माध्यमबाट समेत हुने गरेको छ।
महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन हो। शारीरिक तथा यौन दुर्व्यवहार, घरेलु हिंसा, बालविवाह, मानव बेचबिखन, दाइजोसम्बन्धी हिंसा, जबर्जस्ती विवाह, कार्यस्थलमा हुने दुर्व्यवहार तथा अनलाइनमार्फत गरिने उत्पीडन यसका विभिन्न स्वरूप हुन्। कतिपय अवस्थामा लामो समयदेखिको धम्की, नियन्त्रण, दुर्व्यवहार र असमान शक्ति सम्बन्धले हिंसालाई अझ गम्भीर बनाउने गरेको छ।
महिला अधिकारको संरक्षण र हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय तहमा लामो समयदेखि प्रयास हुँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीडअ) पारित गरेको थियो। त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।
महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। डोमिनिकन गणतन्त्रमा तत्कालीन तानाशाही शासनविरुद्ध राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको सन् १९६० नोभेम्बर २५ मा हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो। उनीहरूको हत्या तत्कालीन शासक राफेल त्रुजिलोको शासनकालमा भएको थियो।
पछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो।
यस वर्षको अभियानले हिंसापीडितलाई न्यायमा सहज पहुँच, सुरक्षित आश्रय, स्वास्थ्य सेवा, कानुनी सहायता तथा मनोसामाजिक परामर्श उपलब्ध गराउन विशेष जोड दिएको छ। हिंसासम्बन्धी उजुरी दर्ता गर्ने सुरक्षित व्यवस्था, निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पनि अभियानका प्रमुख उद्देश्य हुन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा हरेक देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको बताएका छन्। उनले हिंसा रोकथामका प्रयासलाई प्रभावकारी बनाउन र पीडितलाई न्याय दिलाउन सरकारहरूलाई आग्रह गरेका छन्।
उनले हिंसापीडितका लागि गोप्य तथा सहज उजुरी प्रणाली, कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। साथै, हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दोषी तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउनुपर्ने उनको सन्देश छ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्नु सरकारको मात्र जिम्मेवारी नभई परिवार, समुदाय, नागरिक समाज, निजी क्षेत्र र प्रत्येक नागरिकको साझा दायित्व भएको राष्ट्रसङ्घले जनाएको छ। हिंसाविरुद्ध आवाज उठाउने, पीडितलाई विश्वास गर्ने र न्यायका लागि साथ दिने संस्कृतिको विकास गर्न सके मात्रै हिंसामुक्त तथा समानतामूलक समाज निर्माण सम्भव हुने सन्देशसहित आजदेखि १६ दिने अभियान सुरु भएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो