आज बडादसैँको टीका : बिहान १०:२६ बजे शुभ साइत

Jantedhunga

खोटाङ  । बडादसैँको मुख्य दिन विजयादशमी आज आफूभन्दा ठूला तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ। दसैँघर तथा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको नवदुर्गाको प्रसादका रूपमा आज रातो टीका र जमरा लगाउने परम्परा छ।

विजयादशमीका अवसरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवी विसर्जनका लागि बिहान ८:४८ बजेको समय निर्धारण गरेको छ। त्यसपछि टीका लगाउन तथा लगाइमाग्नका लागि बिहान १०:२६ बजेको शुभ साइत तोकिएको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार आज श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुनेछन्। श्री तुलजाभवानी यात्राका लागि बिहान १०:४१ बजे र स्थिरासनका लागि दिउँसो ११:५२ बजेको समय निर्धारण गरिएको छ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले देवीको प्रसादस्वरूप टीका ग्रहण गर्न सर्वसाधारणले अनिवार्य रूपमा साइत कुर्नु नपर्ने धार्मिक मान्यता छ। यद्यपि, धार्मिक विधि तथा परम्पराअनुसार टीका लगाउन चाहनेहरूका लागि समितिले शुभ साइत सार्वजनिक गर्दै आएको छ।

यसैबीच, समितिका अनुसार आगामी कात्तिक ८ गते आइतबार अखिल बलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ। यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित प्रमुख धार्मिक विधि तथा कार्यक्रम सम्पन्न हुनेछन्।

दसैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता, सद्भाव र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।

Jantedhunga
प्रतिक्रिया