नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Jantedhunga

काठमाडौं । नवरात्रको तेस्रो दिन आज मंगलबार (२७ असोज) नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ । दशैंघर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

पौराणिक मान्यताअनुसार चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले उहाँको नाम चन्द्रघण्टा रहन गएको हो । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिएको छ ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । उहाँलाई अत्याचारी दानवी शक्तिको नाश गर्ने देवीका रूपमा वर्णन गरिएको छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधनासँगै मणिपुर चक्रमा ध्यान गर्ने धार्मिक प्रचलन छ । देवीको ध्यान र आराधनाबाट शक्ति प्राप्त हुने तथा अनेकौँ कष्ट र पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने उल्लेख गरिएको छ । देवीको स्वरूप शान्त, सामान्य र करुणामयी मानिन्छ । गीत तथा सङ्गीत क्षेत्रमा लागेका व्यक्तिले पनि चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने धार्मिक मान्यता रहेको छ । आजका दिन देवीको पूजा र ध्यान गर्नाले ललाटमा तेज र चमक प्राप्त हुने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन आइतबार दशैंघर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान र साधनामा आफूलाई समर्पित गर्नु रहेको श्रीमद्देवीभागवत् लगायतका पुराणमा उल्लेख छ । घटस्थापनाका दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवीभागवत् लगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ । देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र प्रसाद ग्रहण गर्ने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ। 

नवरात्रका अवसरमा काठमाडौंसहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । नवरात्रका नौ दिनमा कम्तीमा नौवटा शक्तिपीठमा पुगेर दर्शन र पूजा गर्नुपर्ने धार्मिक मान्यताअनुसार भक्तजन विभिन्न मन्दिरमा पुग्ने गरेका छन् ।

Jantedhunga
प्रतिक्रिया