काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि सुरु भएको भेला शुक्रबार उद्घाटन र शनिबार बन्दसत्र गरिएको थियो।
शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव प्रस्तुत गरिएका थिए। नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्माले विभिन्न प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका थिए।
राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ। २०७९ सालको निर्वाचनमा कांग्रेसले ८८ सिट जितेकोमा अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोपसमेत लगाइएको छ।
पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक नीति परिवर्तन गरी निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले कानुनलाई सरल बनाउनुका साथै परियोजनाको सम्भाव्यताका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
नेता रमेश लेखकले पार्टीको सदस्यता लिने, नवीकरण गर्ने तथा अभिलेख राख्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन्। उनले ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुपर्ने तथा महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
भेलामा पार्टी संरचना सुधार गर्दै विभिन्न तहमा पदाधिकारी थप्ने, केन्द्रीय समितिमा विज्ञहरूको सहभागिता बढाउने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्तावसमेत अघि सारिएको छ।
यस्तै, आगामी दिनमा विशेष महाधिवेशनसम्बन्धी विवाद दोहोरिन नदिन पार्टी विधानमै स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रस्ताव गरिएको छ। आजको सत्रमा प्रस्तुत प्रस्तावमाथि थप छलफल तथा निष्कर्ष निकाल्दै भेला सम्पन्न हुने जनाइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो