नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य राजकुमार बस्नेतको विज्ञप्ती

Jantedhunga

नेविसंघको आन्दोलनमा जोडिनु भएका आदरणीय साथीहरू, जय नेपाल ! 

पछिल्लो समय जिल्ला पार्टीका साथै व्यक्तिगत कामका कारण धेरै समय आफ्नै जिल्ला र काठमाडौं बाहिर अनि हाल केही दिनका लागि देश बाहिर छु, एकाध दिनमै फर्किएर नेविसंघको मैदानमा तपाईंहरुसँगै रहने कुरा अवगत गराउन चाहन्छु । यद्यपि, मेरो प्यारो संस्था नेविसंघको प्रत्येक आन्दोलन र अभियानमा मेरो ऐक्यबद्धता थियो र त्यसमा आफ्नो ज्यान माया मारेर लाग्नुभएका तमाम मेरा साथीहरू प्रति कृतज्ञ छु, सम्मान व्यक्त गर्दछु । 

साथीहरू, नेविसंघ जस्तो न्याय र संघर्षको पर्यायका रूपमा सतिसाल झैं उभिएको संगठनको जीवनमा इतिहासमै 'अध्यक्ष' माथि आफ्नै संगठनका आमरण अनशन बसिरहनु भएको लगायत नेता साथीहरू माथि नै दुर्व्यवहार र हातपात गरेको जस्तो गम्भीर र सांगठनिक अपराधको आरोप लागेको छ, जुन अनशनमा रहनुभएको एक योद्धाबाट समेत आरोप लागेको कुरा सबैलाई थाहै छ । यसले सिंगो नेविसंघको झण्डामुनी रहेर आन्दोलन र अभियानमा जोडिनु भएका कयौं साथीहरूको शिर निहुरिएको छ, नेविसंघको जीवनमा एउटा धब्बा लागेको छ । 

यती आरोप लागेको दोस्रो/तेस्रो दिन बितिसक्दा समेत यथार्थ ढंगले अध्यक्षको आधिकारिक धारणा/खण्डन र स्पष्टीकरण बाहिर नआउनु दुखलाग्दो र अझ शंकास्पदका साथै लाजमर्दो विषय हो । म मेरो बाल्यकाल देखि आफ्नो समय जोडिएको प्यारो संस्थाको केन्द्रिय अध्यक्ष ज्यूलाई आग्रह गर्न चाहन्छु, सर्वप्रथम तपाईंले आफ्नो स्पष्टीकरण सहितको धारणा बाहिर ल्याइदिनुस् । आरोपमा भनिएजस्तो यदि होइन भने पनि त्यसको आधार के हो त्यो समेत बाहिर ल्याइदिनुस्, त्यो दिन आरोप जाहेर गर्ने साथीहरू तर्फ यी कैयन प्रश्नहरू तेर्सिनेछन, भाग्न कोही पाउनेवाला छैनन् । अन्यथा; माफी र आत्मालोचना, होइन भने राजिनामाको बाटो मात्र हो । 

नेपाली कांग्रेसको मूल भातृ संस्था नेपाल विद्यार्थी संघ जस्तो गरिमामय संस्थामा अझ स्वयं अध्यक्ष माथि नै आफ्नै नेताकार्यकर्ताहरुले अस्पतालको शैय्याबाट यती गम्भीर प्रकृतिको फौजदारी गल्ती गरेको भनि अत्यासलाग्दो घटना बाहिर ल्याउदा समेत नेपाली कांग्रेस मौन रहनु धेरै दुखलाग्दो कुरा हो (मैले व्यक्तिगत रूपमा कांग्रेस केन्द्रिय समितिलाई हिजै आग्रह गरिसकेको थिएँ), यो घटना अब नेविसंघको वृत्तबाट नै समाधान हुन अलि गाह्रो होला ।

 त्यसैले, म नेपाली कांग्रेस केन्द्रिय समितिलाई पुनः आग्रह गर्न चाहन्छु, शीघ्र रूपमा नेविसंघको जीवनमा उठेको यो गम्भीर प्रकृतिको घटनालाई हेलचेक्र्याइँ र केटाकेटीहरुको झगडाको रूपमा मात्र नलिई छानबिन र निरुपणका लागि पार्टीले तदारुकताका साथ लेओस् । 

अन्यथा; यो अब व्यक्तिको मात्र कुरा रहेन, यो कुरा आरोप लगाउने र खेप्नेको मात्र पनि रहेन । यो त सिंगो संस्थाको जीवन माथीको प्रहार र आरोप हो । यो आरोपको भार हामीले मात्र होइन, भविष्यले समेत बोक्नुपर्नेछ । यो घटना हेर्दा सरल र आपसी द्वन्द्वबाट सिर्जित भएजस्तो मात्र लाग्ला नै तर, यहीँ राफसाफ नगरी यती गम्भीर प्रकृतिको आरोप र कलङ्क बोकेर अब नेविसंघ अघि हिँड्न सक्दैन । - जय नेपाल !!

Jantedhunga
प्रतिक्रिया