काठमाडौँ। भारतको उत्तराखण्डस्थित हिमाली तीर्थस्थल गंगोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजलद्वारा सोमबार आराध्यदेव श्री पशुपतिनाथको विशेष अभिषेक गरिएको छ। बडाकाजी अमरसिंह थापाको वीरता र भक्तिभावसँग जोडिएको यो ऐतिहासिक परम्पराले पुनर्जीवन पाएको २६औँ वर्षको अवसरमा पाशुपत क्षेत्रमा विशेष धार्मिक अनुष्ठान सम्पन्न भएको हो।
सोमबार बिहान ७ बजे काठमाडौँको गौशाला चोकबाट सुरु भएको शोभा कलश यात्राले पाशुपत क्षेत्रको माहोल भक्तिमय बनाएको थियो। पञ्चेबाजा, भजनकीर्तन र विभिन्न धार्मिक झाँकीसहित निस्किएको यात्रामा साधुसन्त, धर्मगुरु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो। पाशुपत क्षेत्रको परिक्रमापछि मूल मन्दिरमा वैदिक मन्त्रोच्चारण र शास्त्रीय विधिअनुसार पशुपतिनाथको ज्योतिर्लिङ्गमा गङ्गाजल अर्पण गरियो।
नेपाल एकीकरण अभियानका क्रममा बडाकाजी अमरसिंह थापाले पश्चिम किल्ला (गढवाल) विजय गरेपछि गंगोत्री क्षेत्र नेपालको भूगोलमा समेटिएको थियो। सोही ऐतिहासिक कालखण्डदेखि प्रत्येक वर्ष तिहारपछि हिमपातका कारण गंगोत्री मन्दिरको ढोका बन्द हुनुअघि त्यहाँको पवित्र जल काठमाडौँ ल्याएर पशुपतिनाथलाई चढाउने प्रचलन बसेको हो।
समयक्रमसँगै केही वर्ष अवरुद्ध बनेको यो सांस्कृतिक कडीलाई गंगोत्री धामका मुख्य पुजारी (रावल) श्री शिव प्रकाश महाराजको विशेष अग्रसरतामा पुनः सुचारु गरिएको थियो। पुनर्जागरणयता निरन्तर चल्दै आएको यस अनुष्ठानले आज २६ वर्षको गौरवपूर्ण यात्रा तय गरेको छ।
हिमालयको काख गंगोत्री र आराध्यदेव पशुपतिनाथलाई एउटै सूत्रमा बाँध्ने यो परम्पराले केवल धार्मिक आस्था मात्र होइन, नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो जनस्तरको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई समेत जीवन्त राखेको छ। सनातन संस्कृति, ऐतिहासिक धरोहर र विश्व शान्तिको कामनासहित गरिने यस गङ्गाजल अर्पण कार्यक्रमले दुई देशबीचको साझा विरासतलाई अझ मजबुत बनाएको धार्मिक अगुवाहरूको भनाइ छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो