भारतको असममा बाढीबाट विस्थापितको पुनःस्थापना चुनौतीपूर्ण बन्दै

Jantedhunga

असम । भारतको असममा पछिल्लो समय आएको बाढीका कारण विभिन्न क्षेत्र प्रभावित बनेका छन्। बाढीबाट प्रभावित जनजीवन सामान्य बनाउन राहत तथा उद्धारको काम भइरहे पनि ठूलो संख्यामा मानिस विस्थापित भएपछि उनीहरूको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ।

असमका मुख्यमन्त्री शर्माले बाढीबाट उत्पन्न समस्याबारे भारतको केन्द्र सरकारसँग आवश्यक पहल गर्ने बताएका छन्। बाढीका कारण प्रभावित क्षेत्रका बासिन्दासँगै कृषि क्षेत्रमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।

जलवायु तथा वातावरणका विषयमा काम गर्दै आएको संस्था क्लाइमेट ट्रेन्ड्सले असममा बाढीको जोखिम पछिल्ला वर्षमा थप गम्भीर बन्दै गएको जनाएको छ। संस्थाका अनुसार विश्वव्यापी तापक्रम वृद्धि, नदीको स्वरूपमा आएको परिवर्तन तथा मानवीय गतिविधिका कारण जोखिम बढिरहेको छ।

यी कारणले बाढीको प्रभाव केवल जनजीवनमा मात्र सीमित नरही आर्थिक क्षति पनि बढाउँदै लगेको संस्थाको भनाइ छ। बाढी बारम्बार आउन थालेसँगै विपद् व्यवस्थापन थप जटिल बन्दै गएको उल्लेख गरिएको छ।

हाल प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण जारी छ। तर विस्थापित परिवारको पुनःस्थापना, उनीहरूको जीविकोपार्जन पुनःस्थापित गर्नु तथा बाढीले क्षति पुर्‍याएको कृषि क्षेत्रलाई पुनर्जीवित गर्नु अहिलेका प्रमुख चुनौती बनेका छन्।

Jantedhunga
प्रतिक्रिया