विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीले ५७ मतसहित विश्वासको मत प्राप्त गरेका हुन्।
९३ सदस्यीय कोशी प्रदेश सभा हाल ९२ सदस्य कायम रहेको अवस्थामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो। उनलाई नेकपा (एमाले)का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ प्रदेश सभा सदस्यले समर्थन गरेका थिए।
मुख्यमन्त्री कार्कीको विपक्षमा भने २२ मत परेको छ। नेपाली कांग्रेसका २९ प्रदेश सभा सदस्यमध्ये २२ जनाले विश्वासको मतको विपक्षमा मतदान गरेका हुन्।
प्रदेश सभामा पाँच सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यहरू मतदान प्रक्रियामा सहभागी भएनन्। सभामुखसहित राप्रपाका पाँचै सदस्य मतदान नगरी तटस्थ बसेका थिए।त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)की एकमात्र प्रदेश सभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित रहिन्।
कोशी प्रदेश सभामा कुल ९३ सदस्य रहे पनि एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने कुल ८३ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई प्रदेश सभाबाट थप राजनीतिक वैधता प्राप्त भएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो