काठमाडौं । बडादशैंको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी भगवतीको पूजा–आराधना गरिँदैछ। घटस्थापनादेखि सुरु हुने नवरात्रमा नौ दिनसम्म नवदुर्गाका नौवटै स्वरूपको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ।
ब्रह्मचारिणीलाई तपस्या, त्याग र संयमकी देवीका रूपमा पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी भगवतीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार र संयमको भावना वृद्धि हुन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।
दशैंको दोस्रो दिन देशभरका दुर्गा मन्दिर, शक्तिपीठ तथा घरघरमा स्थापना गरिएका दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गरिन्छ। काठमाडौं उपत्यकामा गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका शक्तिपीठमा देवीको आराधना गर्ने धार्मिक चलन छ।
त्यसैगरी, उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र सखडा तथा पोखराको विन्ध्यवासिनी मन्दिरमा पनि दुर्गा भगवतीको विशेष पूजा गरिन्छ।
नवरात्रका अवसरमा शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गरे पनि पूजा तथा दर्शनको व्यवस्था भने सम्बन्धित मन्दिरको सञ्चालन अवस्था र स्थानीय निर्णयअनुसार फरक पर्न सक्छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो