खोटाङ । नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, छठ तथा उधौली पर्वको अवसरमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ मा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ को सहयोग तथा श्री बालोदय आधारभूत विद्यालयको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। साविक चिसापानी गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका खेलाडी तथा टिमलाई लक्षित गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता २०८३ साल कार्तिक १९ र २० गते श्री बालोदय आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १९ गते बिहान १० बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १५ हजार रुपैयाँ तथा तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने टिम तथा खेलाडीहरुले आफ्नो खाना, खाजा र बसोबासको व्यवस्था आफैँ गर्नुपर्ने आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी सद्भाव र भाइचाराको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन महेश कोइराला (९८४१६६८६०८), सन्तोष खड्का (९८६१८२४४००) र श्यामसुन्दर कार्की (९८४२५२८६८५) लाई सम्पर्क गर्न सकिने आयोजकले जानकारी गराएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो