झापाको गौरादहमा चट्याङ् लागेर आगलागी

Jantedhunga

झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा चट्याङ् पर्दा आगलागी भई लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति करिब ११:३० बजे अविरल वर्षासहितको हावाहुरीका क्रममा परेको चट्याङले स्थानीय ५० वर्षीय अजय कुमार झाको टिनको छानो भएको बाँसले बारिएको एकतले भान्साघरमा आगलागी भएको हो। आगो भान्साघरसँगै जोडिएको ग्वालीमा समेत फैलिएको थियो।

आगलागीबाट मानवीय क्षति नभए पनि भान्साघर र ग्वाली पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा ग्यास सिलिण्डर, करिब ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाडावर्तन, अन्नपात तथा फर्निचर जलेर नष्ट भएका छन्। साथै ग्वालीमा रहेका ६ वटा बाख्रा (२ माउ र ४ पाठा) समेत जलेर मरेका छन्।

प्रहरीका अनुसार उक्त घटनाबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो बुधबार राति करिब १:०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया