मजदुरीको पारिश्रमिक विवादमा युवकको हत्या : एकै परिवारका तीनजना पक्राउ

Jantedhunga

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा मजदुरीको पारिश्रमिकलाई लिएर भएको विवादमा ३८ वर्षीय ध्रुव अधिकारीको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय ५७ वर्षीय तीलकबहादुर सार्कीलाई घटनालगत्तै नियन्त्रणमा लिइएको थियो। त्यसपछि अनुसन्धानको क्रममा उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई पनि पक्राउ गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी तीलकबहादुरको घरमा गरेको मजदुरीको बाँकी पारिश्रमिक लिन पुगेका बेला दुवै पक्षबीच विवाद भएको थियो। विवाद चर्किएपछि तीलकबहादुरले खुकुरी प्रहार गर्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तीलकबहादुर स्वयंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। मृतकका आफन्तले श्रीमती र छोरीविरुद्ध पनि किटानी जाहेरी दिएपछि उनीहरूलाई समेत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटनाबारे कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको छ। शव परीक्षणपछि मृतक अधिकारीको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया