खोटाङमा मदिरा सेवनपछि दाजुभाइबीच झगडा, एकको मृत्यु; दुई जना पक्राउ

Jantedhunga

खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ पारुङमा मदिरा सेवनपछि दाजुभाइबीच भएको झगडा दुःखद घटनामा परिणत भएको छ। झगडाका क्रममा गम्भीर घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार साँझ करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई र उनका भाइ ३५ वर्षीय ओइमानसिंह राईबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। दुवैले मदिरा सेवन गरेका थिए।

विवाद बढ्दै जाँदा भएको झगडाका क्रममा ओइमानसिंह घरको बरन्डाबाट लडेर टाउको र पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो।

उपचारकै क्रममा सोमबार बिहान २:२५ बजे चिकित्सकले ओइमानसिंहलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा इमानसिंह राई र सोही स्थानका ३० वर्षीय जीवन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया