खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा साविक चिसापानी गाउँ विकास समिति वडा नम्बर ३ को डाँडाखर्क समूह प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।
नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा उधौलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता कात्तिक १९ र २० गते सञ्चालन भएको थियो।
चिसापानी खेलकुद विकास समितिको आयोजना, जन्तेढुंगा गाउँपालिका–५ को आर्थिक सहयोग तथा श्री बालोदय आधारभूत विद्यालयको समन्वयमा विद्यालयको खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको हो।
तत्कालीन चिसापानी गाउँ विकास समितिअन्तर्गतका साविक वडालाई मात्र सहभागी गराइएको प्रतियोगितामा १० वटा समूहले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा साविक चिसापानी वडा नम्बर ३ डाँडाखर्क समूह प्रथम, सोही वडाको घोर्ले समूह द्वितीय र साविक चिसापानी वडा नम्बर ७ पाथीभरा समूह तृतीय भएका छन्।
विजेता डाँडाखर्क समूहले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, द्वितीय भएको घोर्ले समूहले १५ हजार रुपैयाँ तथा तृतीय भएको पाथीभरा समूहले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका स्थानीय भलिबल खेलाडी तथा भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु खड्काले निर्वाह गरेका थिए।
स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा विभिन्न साविक वडाबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चिसापानी खेलकुद विकास समितिका अध्यक्ष महेश्वर कोइरालाले जानकारी दिए।
प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै चाडपर्वको अवसरमा समुदायबीच आपसी सम्बन्ध र भाइचारा कायम गर्न सहयोग पुगेको आयोजकले विश्वास लिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो