भोजपुर । पर्यटकीय सम्भावनायुक्त ग्रेटर मुन्दुम पदमार्गको प्रचारप्रसार र विकासका लागि भोजपुरका पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन आयोजना गर्ने भएका छन् । स्वदेशी तथा विदेशी पर्यटक तान्ने उद्देश्यसहित पाँच पालिकाले बजेट छुट्याएर तयारी थालेका हुन् ।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा म्याराथन सञ्चालन र पदमार्ग प्रवर्द्धनबारे प्रारम्भिक छलफल भएको छ ।
रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार प्रतियोगिताका लागि पाँच पालिकाले जम्मा रु ५५ लाख बजेट विनियोजन गरेका छन् । जसमा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँच/पाँच लाख छुट्याएका छन् । कार्यक्रमको सञ्चालन प्रक्रिया र अन्य विषयमा आगामी मङ्सिर २५ गते बस्ने बैठकले अन्तिम निर्णय गर्ने अध्यक्ष राईले बताए ।
साझा सहकार्यमा म्याराथन आयोजना गर्न बजेट व्यवस्थापन र कार्यविधिबारे छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय तहको संयुक्त प्रयासले मुन्दुम पदमार्गलाई देश तथा विदेशमा चिनाउन र पर्यटन विस्तारमा सहयोग पुग्नेछ ।
म्याराथनमार्फत पदमार्गको चिनारीसँगै यहाँको प्राकृतिक छटा, सांस्कृतिक धरोहर, मौलिक परम्परा र जनजीवन उजागर हुने विश्वास लिइएको छ । स्वदेशी र विदेशी धावकलाई सहभागी गराउन सके पर्यटन प्रवर्द्धनमा अझै टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
पदमार्ग क्षेत्रका स्थानीय बासिन्दालाई पर्यटनसँग जोडेर स्थानीय उत्पादनको बिक्री, होटल तथा होमस्टे विस्तार र रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत राखिएको छ । पाँचै पालिकाको सहकार्यबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको मुख्य गन्तव्य बनाउने योजना छ ।
संयुक्त बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायत जनप्रतिनिधिको सहभागिता थियो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो