कुनै पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आएनन् : अब के होला ?

Jantedhunga

काठमाडौ  । सरकारले दिएको फेसबुकको मातृ कम्पनी मेटा लगायतका सामाजिक सञ्जाल दर्ताको समयसीमा बुधबार सकिँदै छ । तर, सरकारले दिएको समयसीमा सकिँनै लाग्दा कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको जानकारी दिए ।

सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको छ । सरकारले केही समयअघि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ।

यसअघि टिकटकलाई पनि प्रतिबन्ध लगाएको थियो। टिकटक नेपालमा सूचीकृत हुन आएसँगै अहिले उक्त सञ्जाल पुनः सञ्चालनमा आएको हो ।

पछिल्लो समय चाहिँ सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्ट्राग्रामलगायतलाई नेपालमा सूचीकृत हुन भनेको हो । यसअघि पटकपटक पत्र पठाएरै आग्रह गर्दा अटेर गरेपछि यसपटक मन्त्रिपरिषद्ले नै निर्णय गरी बन्द गर्ने चेतावनीसहितको म्याद दिएको थियो ।

गत बुधबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम’ सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको सुनाएका थिए ।

उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने उल्लेख गरेका थिए।

Jantedhunga
प्रतिक्रिया