विराटनगर । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार मनाइँदै छ। यस अवसरमा घरघरमा सुरक्षा गर्ने तथा मानिसको साथीका रूपमा रहेको कुकुरलाई फूलमाला लगाइदिने, पूजा आराधना गर्ने र मीठा परिकार खान दिएर सम्मान गर्ने परम्परा छ।
यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन मनाइने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउने धार्मिक मान्यता छ।
धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने विश्वास छ। यही धार्मिक आस्थाका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताएका छन्।
धार्मिक ग्रन्थहरूमा कुकुरलाई धर्म र न्यायसँग जोडेर उल्लेख गरिएको पाइन्छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्राका क्रममा समेत साथ दिएको धार्मिक विश्वास छ।
कुकुरलाई मानिसको आज्ञापालक, इमानदार र भरपर्दो साथीका रूपमा लिइन्छ। विशेषगरी घरको सुरक्षा तथा विभिन्न जोखिमको पहिचानमा कुकुरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय कुकुरलाई घरपालुवा जनावरका रूपमा मात्र नभई मानिसको नजिकको साथीका रूपमा समेत सम्मान गर्ने चलन बढ्दै गएको छ।
आजै बिहान नरक चतुर्दशी पनि मनाइँदै छ। यस दिन अरुणोदयकालमा विभिन्न तीर्थस्थल, नदी तथा तलाउमा स्नान र तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर यमदीप बालेर बगाउने धार्मिक परम्परा छ। यसरी दीपदान गर्नाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्। दीप बालेर बगाउने यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चकका पाँचै दिन शरीरमा तिलको तेल लगाएर स्नान गर्ने परम्परासमेत रहेको छ। यसो गर्दा स्वास्थ्य राम्रो रहने आयुर्वेदिक मान्यता छ। धार्मिक आस्था, पारिवारिक सद्भाव र स्वास्थ्यसँग समेत जोडिएको तिहार नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइँदै आएको पर्व हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो