Jantedhunga

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले २३ वर्षीय पुस्कर दहाललाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका दहाललाई कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार दहालले आफ्नो इन्स्टाग्राम खातामार्फत आगामी २३ भदौमा प्रधानमन्त्री शाहलाई ‘सिध्याइदिने’ आशयको धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। उनले उक्त पोस्टमा प्रहरीलाई समेत ट्याग गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा दहालको पहिचान खुलेपछि उनलाई कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरिएको हो।

पक्राउ परेका दहालमाथि सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको सामाजिक सञ्जाल खाता तथा पोस्टका सम्बन्धमा समेत आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



Jantedhunga
प्रतिक्रिया