राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट देखापरेको प्रचण्डको दाबी

Jantedhunga

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थिति असाधारण, जटिल र चुनौतीपूर्ण रहेको बताएका छन्।

 काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट देखापरेको दाबी गरेका हुन्।

उनले लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू क्रमशः कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। देशमाथि वैदेशिक तथा प्रतिक्रियावादी शक्तिहरूको दबाब र हस्तक्षेप बढ्दै गएको उनको भनाइ थियो।

वर्तमान परिस्थितिमा विचार मिल्ने राजनीतिक शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको प्रचण्डले बताए। उनले शान्ति, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले भने, ‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ, राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । यो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दाहरूमा सहकार्य र विगतमा शान्ति, संविधान एवं संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’

प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा उनले विशेष जोड दिए।

उनको भनाइमा, वर्तमान चुनौतीको सामना गर्न कम्युनिस्ट तथा परिवर्तनकारी शक्तिहरूबीचको सहकार्य, एकता र पुनर्गठनलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ।

Jantedhunga
प्रतिक्रिया