विराटनगर, असार ३१ । विराटनगरमा लागूऔषध सेवन गरी सवारीसाधन चलाइरहेका १० जना चालकलाई प्रहरीले विशेष चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन गरिएको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर–१६ स्थित हुलास चोकमा चिकित्सकको उपस्थितिमा लागूऔषध सेवन (लापसे) परीक्षण गरेको थियो। परीक्षणका क्रममा सार्वजनिक सवारी चलाइरहेका नौ जना सिटी सफारी चालक तथा एक जना मोटरसाइकल चालकको रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकहरूबाट प्रयोगमा रहेका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखी लागूऔषध सेवन गरी सवारी सञ्चालन गरेको विषयमा थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार पछिल्लो समय मादक पदार्थ तथा लागूऔषध सेवनपछि सवारी चलाउने प्रवृत्ति बढ्दै गएको देखिएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्ता विशेष चेकजाँचलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिनेछ।
प्रहरीले चालकहरूलाई मादक पदार्थ वा लागूऔषध सेवनपछि कुनै पनि सवारीसाधन नचलाउन आग्रह गर्दै कानुन उल्लंघन गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइनमार्फत सूचना उपलब्ध गराई सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो