काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सो पार्टीले विरोधस्वरुप आन्दोलनको घोषणा गरेको छ । अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो । पार्टीद्वारा जारी विज्ञप्तिमा आफ्ना नेताहरुलाई काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्यूँताएर २०८० मंसिर १८ गते पुक्राउ पुर्जी जारी गरिएको उल्लेख छ ।
पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला समेत भएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
