आज धनतेरस मनाइँदै, तिहारको रौनक सुरु

Jantedhunga

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चहलपहल आज (शुक्रबार)देखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदैछ। धन, स्वास्थ्य र समृद्धिको कामनासहित मनाइने धनतेरसका अवसरमा सुनचाँदीका गरगहना, सिक्का तथा विभिन्न धातुका भाँडाकुँडा खरिद गरी घरमा भित्र्याउने परम्परा छ।

धनतेरसलाई धन त्रयोदशी पनि भनिन्छ। कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वमा नयाँ वस्तु खरिद गर्दा घरमा धनसम्पत्ति, सुख र समृद्धि वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।

यस दिन सुन, चाँदी र तामाका भाँडाकुँडाका साथै कौडी, कमल गट्टा, बेसार, कुचो, बिमिरो, धनियाँको दाना, श्रीयन्त्र, स्वस्तिक चिह्न, रातो कपडा र पानलगायत सामग्री खरिद गर्नु शुभ मानिन्छ। यी वस्तुलाई देवी लक्ष्मीको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। यद्यपि, धनतेरसमा सामग्री खरिद गर्दा आफ्नो आर्थिक क्षमताअनुसार गर्नुपर्ने मान्यता पनि छ।

धनतेरसका दिन साँझ देवी लक्ष्मीको पूजा आराधना गर्नुका साथै यमराजका नाममा दीपदान गर्ने चलन छ। घरको मूलढोका र आँगनमा दीप प्रज्वलन गरी परिवारका सदस्यको नाममा दक्षिणतर्फ फर्काएर दीपदान गरिन्छ। यसरी दीपदान गर्दा परिवारका सदस्यलाई अकाल मृत्युबाट जोगाउन सकिने तथा सुख, शान्ति र दीर्घायु प्राप्त हुने धार्मिक विश्वास छ।

धनतेरस भगवान् धन्वन्तरीसँग पनि सम्बन्धित पर्व हो। पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतकलशसहित प्रकट भएको दिनलाई धनतेरसका रूपमा मनाउने गरिन्छ। आयुर्वेद तथा स्वास्थ्यका देवताका रूपमा पुजिने धन्वन्तरीको आराधना गर्दै यस दिन धनसम्पत्तिसँगै सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा छ।

समुद्र मन्थनबाट देवी लक्ष्मी पनि प्रकट भएकी थिइन् भन्ने धार्मिक मान्यता छ। लक्ष्मीलाई धन र समृद्धिको प्रतीक मानिने भएकाले यस दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउने परम्परा बसेको विश्वास गरिन्छ। धनतेरसको अवसरमा घरको सरसफाइ गरी दीपावलीका लागि लक्ष्मीको स्वागत गर्ने तयारीसमेत गरिन्छ।

तिथिको घटबढका कारण यस वर्ष तिहारको पर्वक्रममा केही परिवर्तन भएको छ। सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि बिहान ११ः१० बजेपछि त्रयोदशी सुरु भएकाले शुक्रबार धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १०ः४७ बजेसम्म रहने छ।

त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ। सोमबार गाईपूजा (गाई तिहार), मंगलबार गोवर्धनपूजा (गोरु तिहार) र कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ।

सामान्यतया पाँच दिनसम्म मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म चल्ने भएको छ। तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहलसमेत बढेको छ। धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित कार्यालयबाट सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ।

Jantedhunga
प्रतिक्रिया