जनकपुरधाम, असार ६। मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार उक्त अवधिमा कुल राजस्व सङ्कलन ३० अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको हो।
मन्त्रालयका तथ्याङ्कअनुसार प्रदेशको आन्तरिक स्रोतबाट मात्र ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ। आन्तरिक राजस्वतर्फ घरजग्गा रजिस्ट्रेशन तथा सवारीसाधन कर प्रमुख आयस्रोतका रूपमा रहेका छन्। ११ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी तथा सवारीसाधन करबाट २ अर्ब १ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ।
यस्तै, सवारी चालक अनुमतिपत्र वितरण, सवारी दर्ता दस्तुर तथा यातायातसम्बन्धी विभिन्न सेवाबाट पनि उल्लेख्य आम्दानी भएको छ। दहत्तर–बहत्तर सामग्रीको बिक्रीबाट समेत प्रदेश सरकारले राजस्व प्राप्त गरेको जनाएको छ।
संघीय सरकारसँगको राजस्व बाँडफाँट अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क करबाट पनि प्रदेशले ठूलो परिमाणमा रकम प्राप्त गरेको छ। साथै समानीकरण, सशर्त चालु तथा सशर्त पुँजीगत अनुदानमार्फत संघीय सरकारबाट प्राप्त रकमले प्रदेशको कुल आयमा महत्वपूर्ण योगदान पुर्याएको छ।
अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार पछिल्लो समय देखिएको आर्थिक सुस्तता, घरजग्गा कारोबारमा आएको कमी तथा नयाँ सवारीसाधन खरिद–बिक्री घट्नु राजस्व लक्ष्य प्रभावित हुने प्रमुख कारण बनेका छन्। साथै गत भदौ महिनामा भएको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने केही सरकारी कार्यालयमा पुगेको क्षतिले पनि राजस्व सङ्कलन प्रक्रियामा असर परेको उनले बताए।
प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार र राजस्व चुहावट नियन्त्रणमार्फत आगामी महिनाहरूमा राजस्व सङ्कलन सुधार गर्ने अपेक्षा गरेको जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो