प्रीतिले इन्जुरी समयमा कर्नर किकको अवसर सदुपयोग गर्दै गोल गरेपछी नेपाल फाइनलमा।

Jantedhunga

साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले गोल भएको थियो।

त्यसअघि ७६औं मिनेटमा नेपाल अन्ततः बराबरी गोल गर्न सफल भएको थियो । रश्मीको पासमा सावित्रा भण्डारी साम्बाको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि साम्बा आफैले मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भइन् । प्रतियोगितामा साम्बाको‌ त्यो नवौं गोल हो । उनले खेलेका सबै ४ खेलमा उनले गोल गरेकी छन् ।

नेपालले पछिल्लो खेलहरुमा जस्तो पहिलो हाफमा खेलमा पकड बनाउन सकेको थिएन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको राम्रो सदुपयोग गर्न सकेन ।

१४औं मिनेटमा साम्बाले बक्स बाहिरबाट लिएको प्रहार पोस्टतर्फ जान सकेन । २०औं मिनेटमा लेबनानकी लैला इस्कन्दरको प्रहार नेपाली गोलकिपर एन्जिलाले सहजै समातिन् । २८औं मिनेटमा रेखाको अर्को लङ रेन्ज प्रहार पोस्टको दिशामा रहेन ।

४२औं मिनेटमा अमिषा कार्कीको क्रस साम्बासम्म पुग्न सकेन । ५९औं मिनेटमा साम्बाको अर्को प्रहारले लेबनान गोलरक्षकलाई दुःख दिन सकेन ।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।

नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

Jantedhunga
प्रतिक्रिया